काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
इजलासले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए आजै थुनामुक्त गर्न आदेश दिएको छ । पूर्वसांसद कोइरीका छोरा मनोज कुमार महतोले आफ्ना बाबुलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
अदालतले भनेको छ, ‘निवेदकलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए आजै थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हुँदा निवेदक लक्ष्मी महतो कोइरीलाई आजै थुनामुक्त गरी दिनुहुन आदेशानुसार अनुरोध गरिन्छ ।’
मधेश आन्दोलनका क्रममा २०७२ सालमा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । त्यसअघि जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।

