धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले बुधबार एमालेका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए । उनले एक घण्टाभित्र बजेट पास गर्ने या सरकार छोड्ने बारे निर्णय दिन एमाले मन्त्रीहरूलाई अल्टिमेटम दिएका थिए ।
शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएको एक घण्टा नपुग्दै एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद थिए ।

