काठमाडौँ । आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार निधन भएको रास्वपाका सांसद अमरेशकुमार सिहले जानकारी दिएका छन् । सांसद सिंहले मण्डललाई बचाउन अथक प्रयास गरेपनि असफल भएको बताएका छन् ।
उनले भनेका छन्, ‘विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र डाक्टरहरुले कुनै कसर बाँकी राखेको थिएन। अथक प्रयासका बाबजुद उनको निधन भएको छ । उनको दुःखद र असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दछु। विवेकको परिवारलाई आफूबाट हुनसक्ने हरेक सहयोग आजीवन गर्ने समेत घोषणा गर्दछु।’
असार २६ गते सर्लाहीमा गडैता नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मण्डलले आफ्नो घर नजिकै पेट्रोल छर्केर आगो लगाएका थिए । उनले आफैंमाथि आगो लगाएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
यसअघि मुगुका गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगो लगाएर गम्भीर घाइते भएका थिए । उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको थियो।

