काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भएपनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बताइन् ।
सांसद ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा बन्ने बताइन् ।नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश निर्धारण गर्ने बताउँदै उनले सीमा नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएको धारणा राखिन् । सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सरकारले संसद्मै स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।
उनले इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र नलेख्ने भन्दै सत्तापक्षले कहिले बोल्यो भनेर पनि लेख्ने बताइन् । उनले इतिहासले सत्तापक्षको लाचारीपन अवश्य हेर्ने बताइन् ।

