टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन २०२६ “आरोहण” को तयारी अन्तिम चरणमा पुगेको छ। अगस्टको १५-१६ तारिख़ चीनमा हुने सम्मेलनको व्यवस्थित तथा उपलब्धिमूलक बनाउन विभिन्न तयारी तीव्र गतिमा अघि बढाइएको एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) दीपक कँडेलले जनजाति दिनुभयो।
संयोजक कँडेलका अनुसार सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रअन्तर्गतका विभिन्न देशका प्रतिनिधि, एनआरएनएका पदाधिकारी, समाजसेवी, व्यवसायी, युवा, पत्रकार तथा महिला प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमार्फत वैदेशिक नेपालीहरूको साझा चासो, अवसर, चुनौती तथा क्षेत्रीय सहकार्यका विविध विषयमा छलफल हुनेछ।
आरसी कँडेलका अनुसार सम्मेलनको मूल उद्देश्य एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीच आपसी सहकार्य, एकता र अनुभव आदानप्रदानलाई थप मजबुत बनाउनुका साथै नेपालको पर्यटन विकास र लगानीलाई बिशेष प्राथमिकता दिई, उद्यमशीलता, पर्यटन, शिक्षा, सीप विकास तथा मातृभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको छ।
“आरोहण” सम्मेलनका लागि आवश्यक व्यवस्थापन, अतिथि स्वागत, आवास, कार्यक्रम सञ्चालन, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायत सम्पूर्ण तयारी योजनाअनुसार अघि बढिरहेको र अब अन्तिम चरणमा पुगेको संयोजक कँडेलले बताउनुभयो।
आयोजकका अनुसार यस सम्मेलनलमा ३०० बढ़ी उपस्थित भई एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूबीच सहकार्यको नयाँ आयाम स्थापित गर्नुका साथै गैरआवासीय नेपालीहरूको साझा हितका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
एनआरएनए एसिया क्षेत्रीय सम्मेलन २०२६ “आरोहण” को मिडिया पार्टनरको रूपमा मातृसन्देश डटकम पनी रहेको छ ।

