सोमबार, जेठ २५, २०८३

चीनका राष्ट्रपति सी लाई उत्तर कोरियामा असाधारण सम्मान

प्योङयाङ । चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्। दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेइजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सी सँग उनकी पत्नी पेङ लियुआन, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुगेका छन्। गत वर्ष बेइजिङमा भएको भेटपछि सी र किमबीचको यो पहिलो औपचारिक शिखर वार्ता हो।

भ्रमणको विस्तृत कार्यसूची सार्वजनिक नगरिए पनि जानकारहरूका अनुसार वार्ताको केन्द्रमा चीन–उत्तर कोरिया सम्बन्धको सुदृढीकरण, आर्थिक सहयोग विस्तार तथा क्षेत्रीय सुरक्षा अवस्था रहनेछ। दुवै देशले पछिल्ला वर्षमा अमेरिकासँग छुट्टाछुट्टै तनाव सामना गरिरहेका बेला पुरानो रणनीतिक साझेदारीलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन्।

यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सी जिनपिङले गत महिना गरेको शिखर वार्तापछि भएको हो। आगामी महिनाहरूमा सी र ट्रम्पबीच पुनः भेटवार्ता हुने अपेक्षासमेत गरिएको छ। विश्लेषकहरूका अनुसार उत्तर कोरियामाथिको प्रभाव प्रदर्शन गर्न सक्नु चीनका लागि अमेरिकासँगको कूटनीतिक प्रतिस्पर्धामा महत्त्वपूर्ण पक्ष बन्न सक्छ।

चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आएको छ।

 

यसमा तपाईको प्रतिक्रिया