शनिबार, बैशाख ०८, २०८१

गृहराज्य मन्त्रीमा श्याम श्रेष्ठ नियुक्त,को हुन श्रेष्ठ ‘कुशल’ ?

ललितपुर,४ भदौ । नेकपा माओवादी केन्द्रबाट गृहराज्य मन्त्री  श्यामकुमार श्रेष्ठ ‘कुशल’ बनेका छन् ।
श्याम लगाएत ८ राज्यमन्त्री नियूक्ती गरेको छ ।

आइतबार अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।
आठ राज्य मन्त्रीहरुमा महिला बालबालिका तथा समाज कल्याणमा मोहम्मद जाकिर हुसेन,स्वास्थ्यमा रामसिंह यादव, गृहमा श्यामकुमार श्रेष्ठ, उर्जामा शम्भुलाल श्रेष्ठ आपूर्तिमा कर्णबहादुर विक, शहरी विकासमा छमबहादुर गुरुङ, पशुपक्षी विकासमा गोमा कुँवर र सामान्य प्रशासनमा ओङ्दी शेर्पाले शनिवार नै कार्यभार ग्रहण गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट गृहराज्य मन्त्री बन्नुभएका श्यामकुमार श्रेष्ठ ‘कुशल’ रामेछाप जिल्ला साबिकको गेलु गाविस र हाल मन्थली नगरपालिकामा २०२८ पुस १ गते बुबा तिर्थदास श्रेष्ठ र आमा कष्टमाया श्रेष्ठको कोखबाट जन्म भएको थियो ।

सानैदेखि विद्रोही स्वभावका मन्त्री श्रेष्ठले २०४३ सालबाट मसालबाट राजनीति यात्रा सुरु गर्नुभएको थियो । मसालबाट रामेछाप जिल्लाको विद्यार्थी संगठनमा काम गर्दै २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिनुभएको उहाँले २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य हुनुभएको थियो ।
२०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत रुपमा काम गर्दै २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभे्रको सव–एरियाको सेक्रटरीको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
२०५८ सालमा माओवादीको रामेछापको जिल्ला कार्य समिति सदस्य हुँदै २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज हुनुभएको श्रेष्ठ २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईकाला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
२०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ साल सम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । साथै ०६६ बाट नै पुनः रामेछापको सेक्रेटरीको रुपमा काम गर्नुभयो थियो ।
२०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुखको रुपमा काम गर्दै २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनुभएको थियो । संसदीय फाँटको जिम्मेवारीमा रहेर काम गरिरहनुभएका श्रेष्ठ व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आर्पूित तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य समेत हुनुहुन्छ ।
२०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य हुनुभएका उहाँ २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य हुनुभएको थियो । स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक भएर काम गर्नुभएको थियो । संविधानसभा निर्वाचनमा निर्वाचित भएपनि रामेछापको विकास निर्माणमा भूमिका खेल्नु भएका श्रेष्ठले आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृहराज्य मन्त्री श्रेष्ठले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
एम्बुस र गोली छल्दै मन्त्रीसम्म
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी हुनुभएका सांसद श्रेष्ठले पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बालबाल बचेको बताउनुहुन्छ । पार्टीको बैठक राख्न जाने क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएको बताउदै मन्त्री श्रेष्ठले भन्नुभयो,‘गोलीको कारण सल्लाको रुखको फक्लेटा निस्किएको थियो, तर पनि भागेर ज्यान बचाउन सफल भयौं ।’ कुहिरो नलागेको भए बाच्ने कुनै आश नै थिएन, प्रकृतिले पनि कहिलेकाही साथ दिदो रहेछजस्तो लाग्यो, उहाँले भन्नुभयो ।
मन्थली हान्न अध्ययन गर्न जादा सेनाको मुखबाट जोगियौं
जनयुद्धको समयमा पार्टीले २०५९ मा रामेछापको सदरमुकाम मन्थली हाल्ने योजना पार्टीले बनाएको थियो । सोही योजना अनुसार बर्षमान पुन, सुन्तु दराई र आफू मन्थलीको अध्ययनको लागि गएको स्मरण गर्दै मन्त्री श्रेष्ठले चिसापानीबाट अध्ययन गरेर मुगिटारसम्म आइपुग्दा सिभिलमा रहेका सेनाहरुको घेरा हालेपछि बालबाल उम्किन सफल भएको । ‘हामी अध्ययन सकेर मुगिटार पुगेका थियौ, सिभिलमा रहेका सेनाहरुले घेरा हालिसकेका थिए,विवेक नपु¥याएको भए हामी त्यही सिधिन्थ्यौ’, उहाँले भन्नुभयो,‘त्रिवेणी तर्फ लागेर बाँच्न सफल भयौं ।’

रामेछापलाई समृद्ध बनाउन प्रतिबद्धता
मन्त्री श्रेष्ठले रामेछाप जिल्लालाई समृद्ध बनाउने अभियान सुरु भइसकेको बताउनुहुन्छ । उहाँले संविधानसभाबाट संविधान जारी गरेपनि गाउँगाउँमा सिंहदरवार पुगेको बताउदै अब विकास निर्माणको युग सुरु भएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो,‘रामेछापको पूर्व–पश्चिम, उत्तर दक्षिणमा नै सडक पुगेको छ, अब पिच गर्नुपर्छ, विद्युत नपुगेको स्थानमा धमाधम विद्युतीकरण भइरहेको, कृषिलाई आधुनिकरण गर्दै पर्यटनको विकास गर्दा नै जिल्लाको विकास हुन्छ ।’ उहाँले रामेछापको ८ वटै स्थानीय तहमा नमूना शहर निर्माण गर्ने योजनालाई साकार पार्न आफू लागि पर्ने बताउदै स्थानीय तहमा गएको बजेट पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभयो । स्थानीय तहमा लामो समयपछि जनप्रतिनिधि आएकाले सुशासन सहितको स्थानीय प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले रामेछापको विकासको लागि तत्कालिन, अल्पकालिन र दिर्घकालीन गरी तीन तहमा विभाजन गर्दै त्यसको आधारमा बजेटको आकार निर्धारण गर्नुपर्ने बताउनुभयो ।