बिहिबार, बैशाख ०६, २०८१

माओवादीलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं,३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने र युवाको विशाल फौज हेर्ने इच्छा रहेको बताएका छन् ।

शुक्रबार वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलनलाई  सम्बोधन गर्दै प्रचण्डले सबै माओवादीलाई एकताबद्ध गर्ने र सुदृढ संगठन बनाउने अभियानमा लागेको बताए । पूर्व माओवादीहरुलाई पार्टी एकताका लागि आहृवान गर्दै उनले भने, ‘युवाहरुको विशाल फौज हेर्न चाहान्छु, मेरो अन्तिम इच्छा त्यही हो ।

पहिलो र दोस्रो चरणको स्थानीय चुनावको जनादेशले सबै माओवादीलाई एकता हुन भनेको भन्दै उनले माओवादीलाई एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीहरुबीच एकताको वातावरण निर्वाह गर्न युवाहरुलाई आह्वान गरे । माओवादी कमजोर भएमा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै उनले भने, ‘सबै माओवादी एकतावद्ध हुने प्रक्रिया चल्दैछ । एकता अभियानलाई पूर्णता दिने वातावरण बनाउन म अपिल गर्दछु ।’

राष्ट्रियताको नाममा मधेस र पहाडे समुदायबीच बिभाजन ल्याउने षडयन्त्र भइरहेको आशंका प्रचण्डले गरे । राष्ट्रियता कमजोर पार्ने र देशलाई बिखण्डनतिर लैजाने षडयन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई रोक्न युवाहरुलाई आग्रह गरे । ‘जनता जनतालाई भिडाउने षडयन्त्र भइरहेको छ । जातिवाद, नश्लवाद हुँदै फाँसीवादमा जाने खतरा छ,’ प्रचण्डले भने ।

परिवर्तनको सम्वाहक युवाहरु नै भएको भन्दै प्रचण्डले वाईसीएललाई विकास र समृद्धिका लागि व्रिगेड बनाउन निर्देशन दिए । उनले भने, ‘युवाहरुको व्रिगेड बनाउनुस् तर, हिजोको जस्तो मेसिनगन चलाउने होइन, आर्थिक समृद्धिको लागि युवाहरुको फौज चाहिएको छ । युवाहरुबाट जस्तोसुकै विद्रोह गर्न सकिन्छ । आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

प्रचण्डले अरु राजनीतिक दलका युवाहरुलाई पनि आर्थिक समृद्धिको दिशामा अघि बढ्न अपिल गरे ।