मङ्गलबार, बैशाख २९, २०८३

आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना मूकदर्शक बनेको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद रामबहादुर थापाले रास्वपाको नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा थापाले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर राजनीतिक संकेत भएको दाबी गरेका हुन् ।

उनले यसबाट राज्यका प्रमुख संरचना विशेषगरी प्रशासन र न्याय प्रणालीमा एकल राजनीतिक प्रभुत्व कायम गर्ने प्रयास भएको देखिएको बताए ।

उनले भने, ‘प्रतिनिधिसभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो । यसको राजनीतिक लक्ष्य राज्यको प्रशासनतन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो । यो लक्ष्य प्राप्त गर्न रास्वपा सफल रहयो।’ उनले रास्वपाको उदयलाई कुनै दीर्घ राजनीतिक संघर्ष वा विचारधारागत योगदानको परिणाम नभएको टिप्पणी गरे। उनका अनुसार यो सफलता दशकौंदेखि पुराना सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको परिणाम हो, जसमा आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), एल्गोरिदम र अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावहरूको पनि भूमिका रहेको छ।

उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन बसेको आरोप लगाए ।

उनले भने, ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुँदा त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?अनि असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’ ‘रास्वपाले देश र जनताको लागि दशकौदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा वा क्षमताबाट प्राप्त गरेको कदापी हैन । यो सफलता त दशकौँदेखि तत्कालिन सत्ताधारी दलहरुले गरेका कमजोरीहरुको योगफल, एआइ र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावहरुको कुल परिणाम थियो,’ उनले भने ।

त्यस्तै, उनले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत उल्लेख गर्दै त्यसलाई रास्वपाको नयाँ राजनीतिक दिशासँग जोड्ने प्रयास गरे। उनले रास्वपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै यसलाई स्पष्ट वैचारिक आधार नभएको शक्ति भएको टिप्पणी गरे।

यसमा तपाईको प्रतिक्रिया