टोकियो । मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटको सामना गर्न जापान र अस्ट्रेलियाले आफ्नो रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएका छन् ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा सोमबार भएको द्विपक्षीय वार्तामा जापानी प्रधानमन्त्री सानाए ताकाइची र अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच महत्वपूर्ण खनिज, ऊर्जा र खाद्य सुरक्षामा सहकार्य गर्ने ऐतिहासिक सहमति भएको हो ।
भेटपछि दुवै नेताले ‘आर्थिक सुरक्षा’ सम्बन्धी संयुक्त घोषणापत्रसहित पाँचवटा महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरेका छन् । जापानी प्रधानमन्त्री ताकाइचीले दुई देशबीचको सम्बन्धलाई ‘अर्ध(गठबन्धन’को संज्ञा दिँदै जापान र अस्ट्रेलिया समान विचारधारा भएका साझेदारहरूमध्ये सबैभन्दा अगाडि रहेको बताउनुभयो ।
दुवै देशले महत्वपूर्ण खनिजहरूको निर्यातमा लगाइने प्रतिबन्धप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् । यो विशेष गरी चीनले हालै ‘रेयर अर्थ’ को निर्यातमा कडा पारेको नियन्त्रणप्रति लक्षित छ ।
जापान आफ्नो आवश्यकताका लागि चीनमा निर्भर छ । तर, प्रधानमन्त्री ताकाइचीले गत नोभेम्बरमा ताइवानमाथि आक्रमण भएमा जापानले अमेरिकालाई सैन्य सहयोग गर्न सक्ने टिप्पणी गरेपछि चीनले जापानमाथि निर्यात प्रतिबन्धहरू कडा पारेको छ । यस्तो अवस्थामा जापानले अस्ट्रेलियालाई एक भरपर्दो वैकल्पिक स्रोतको रूपमा हेरेको छ ।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इरान र इजरायल–अमेरिका द्वन्द्वले विश्वव्यापी कच्चा तेल ढुवानीमा अवरोध पुर्याएको छ । तेलका लागि पूर्णतः आयातमा निर्भर जापानले अस्ट्रेलियासँग ऊर्जा सुरक्षामा थप सहयोग मागेको छ । अस्ट्रेलिया जापानको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास आपूर्तिकर्ता हो । दुवै देशले मध्यपूर्वको तेलमा रहेको निर्भरता घटाउन र इन्धनको मूल्यवृद्धिको मारबाट जोगिन आपूर्ति सञ्जाललाई मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
सामरिक क्षेत्रमा पनि दुई देशबीचको सहकार्य बलियो बन्दै गएको छ। अस्ट्रेलियाली नौसेनाका लागि जापानको ‘मगामी क्लास’ अत्याधुनिक स्टिल्थ फ्रिगेट जहाजहरू संयुक्त रूपमा निर्माण गर्ने ठेक्का सम्झौताको दुवै नेताले स्वागत गरेका छन् । अस्ट्रेलियाले जापानबाट यस्ता ११ वटा जहाज खरिद गर्ने योजना बनाएको छ ।
हामीले मध्य पूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एशिया प्रशान्त क्षेत्रमा ऊर्जा स्थिर आपूर्ति र महत्वपूर्ण खनिजहरू सहित आपूर्ति श्रृंखला सुदृढ पार्ने सहकार्य सुनिश्चित गर्न सक्षम भएका छौं। अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै ुजिम्मेवार जापानी कूटनीतिु विकास गर्न मेहनत गर्ने ुजसले शान्ति र समृद्धि सिर्जना गर्नेु जापानी प्रधानमन्त्री ताकाइचीले बताएी छन् ।
भ्रमण जापान र अस्ट्रेलियाबीचको ‘मैत्री तथा सहकार्य सन्धि’ को ५०औँ वर्षगाँठको अवसरमा भएको हो । पाँच दिने वैदेशिक भ्रमणका क्रममा भियतनामपछि अस्ट्रेलिया पुग्नुभएकी प्रधानमन्त्री ताकाइचीको आज मंगलबार स्वदेश फर्किएकी छन् ।


