मङ्गलबार, बैशाख ०८, २०८३

बाढी प्रभावित क्षेत्रमा पुगेर प्रचण्डले भने राहतमा कमी हुन दिन्न

सप्तरी,३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

बुधबार पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले  बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् । हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर-कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरे ।

प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उनले राहतमा कुनै कमी हुन नदिने बताए ।तराई/मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए । बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए ।