मङ्गलबार, बैशाख ०८, २०८३

केन्द्रको अधिकार स्थानीय तहसम्म ल्याउन युवाको ठुलो हात छ : ढुंगेल

रामेछाप । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले संविधानले सिंहदरबारको अधिकार गाउँगाउँमा दिएपनि अझै पनि केन्द्रमा बस्नेहरुले अधिकार दिन आनाकानी गरिरहेको बताएका छन् ।

उनले संविधानले दिएको अधिकार सबै नआउदासम्म स्थानीय तह बलियो हुन नसक्ने बताएका हुन् । ‘केन्द्रमा बस्नेहरुले स्थानीय तहले पाएको अधिकार नदिने खेलमा लागेका छन’,उपाध्यक्ष ढुङगेलले भने,‘स्थानीय तहको अधिकारले नै देशलाई समृद्ध बनाउने भएकाले षडयन्त्रको विरुद्ध जागरुप हुनुपर्छ ।’

आइतवार रामेछापको मन्थलीमा आयोजित अन्र्तराष्ट्रिय युवा दिवसका युवा उद्यमशिलता र चुनौती बिषयक कार्यशालालाई सम्बोधन गर्दै उनले युवा नै देश विकासको प्रमुख मेरुडण्ड भएकाले युवालाई उद्यमशिलता बनाउन युवा परिषदले योजना बनाउने बताए ।


कार्यक्रममा नेपाल ईन्जिनियर कलेज चागुनारायणका अध्यक्ष लम्बोदर न्यौपानेले उद्यामशिलतामा भएका आधुनिक विकासका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

उनले देश विकासको लागि युवाहरु नै बढी सचेत हुनुपर्नेमा जोड दिए । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षता सम्पन्न कार्यशालामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।