रोयटर्स । इरानले लेबनानमा भएको युद्धविरामपछि शुक्रबार होर्मुज जलडमरूमध्य अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याएको छ । यसले शान्ति वार्ताप्रति आशा बढाएको छ । तर तेहरानले अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहे पुनः जलमार्ग बन्द गर्न सकिने चेतावनी दिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत जलडमरूमध्य १० दिने युद्धविराम अवधिभर सबै व्यावसायिक जहाजका लागि खुला रहने घोषणा गरेका छन् । युद्धविराम बिहीबार इजरायल र लेबनान बीच अमेरिकी मध्यस्थतामा भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एरिजोनामा आयोजित सभामा यस कदमलाई ‘विश्वका लागि सकारात्मक दिन’ भनेका छन् । इजरायलसँग मिलेर फेब्रुअरी २८ मा सुरु गरिएको इरानविरुद्धको युद्धपछि उक्त जलडमरूमध्य प्रभावकारी रूपमा बन्द अवस्थामा पुगेको थियो।
तर दुवै पक्षका पछिल्ला अभिव्यक्तिले समुद्री ढुवानी कहिले पूर्ण रूपमा सामान्य हुन्छ भन्नेबारे अन्योल कायम रहेको देखिएको छ। शुक्रबार केही जहाजहरूले जलडमरूमध्य पार गर्ने प्रयास गरे पनि सफल हुन नसकी फर्किएको जनाइएको छ ।
ट्रम्पले इरानसँगको सहमति पूर्ण नभएसम्म इरानी बन्दरगाहतर्फ जाने जहाजमाथिको अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन्।
यसप्रति प्रतिक्रिया दिँदै इरानका संसद सभामुख मोहम्मद बाकेर कालिबाफले अमेरिकी नाकाबन्दी जारी रहे जलडमरूमध्य खुला नरहने चेतावनी दिएका छन्। उनले शान्ति वार्ताबारे ट्रम्पले गलत दाबी गरेको आरोप समेत लगाएका छन्।
इरानले अब सबै जहाजहरूले इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स सँग समन्वय गर्नुपर्ने जनाएको छ । जहाज आवागमनसम्बन्धी तथ्यांकअनुसार शुक्रबार साँझ फारस खाडीबाट होर्मुजतर्फ अघि बढेका करिब २० जहाजमध्ये अधिकांश फर्किएका छन् ।

