काठमाडौं,३१ साउन । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् । उनलार्इ लगतै आईसीयूमा लगिएको छ ।
देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका हुन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले भने, ‘विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छु ।’
डा. केसीले माफिया प्रवृत्तिविरुद्ध आफ्नो आन्दोलन जारी रहेको उनले बताए । केही माग पुरा भएपनि माथेमा प्रतिवेदन र आफ्ना सुझावहरु समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्न अझै बाँकी नै रहेको उनले बताए ।
उनले भनेका छन्, ‘सत्याग्रहको कार्यक्रम स्थगित गरेपनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाई निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः सुरु गर्ने जानकारी गराउँछु । यो पटक डा. केसीले सरकारसँग कुनै सम्झौता गरेनन् । यद्यपि चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ ।
डा. केसीले अनसन स्थगित गर्नुअघि त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । ‘सिट र शुल्क निर्धारणका सम्वन्धमा आईओएमले जे सिफारिस गर्छ, त्यो सिनेटमा लैजान्छौं भनेर डिनलाई लेखी पठाएको छ ।
