वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य अभियानका लक्ष्यहरू लगभग हासिल भइसकेको बताएका छन् । बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले द्वन्द्व अन्त्यको स्पष्ट समयसीमा भने सार्वजनिक गरेनन् । युद्धप्रति थकित अमेरिकी जनमत, घट्दो लोकप्रियता र सहयोगीहरूको दबाबबीच ट्रम्पले अमेरिकाले इरानको नौसेना र वायुसेना ध्वस्त पारेको तथा ब्यालिस्टिक क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई गम्भीर रूपमा कमजोर बनाएको दाबी गरे ।
उनका अनुसार आगामी दुईदेखि तीन हप्तासम्म इरानका लक्ष्यहरूमा आक्रमण जारी रहनेछ र अमेरिका “छिट्टै” अभियान सम्पन्न गर्ने चरणमा छ । १९ मिनेट लामो सम्बोधनमा उनले इरानको समृद्ध युरेनियमको अवस्था र विश्व तेल आपूर्तिको मुख्य मार्ग स्ट्रेट अफ होर्मुजमा आवतजावतजस्ता महत्वपूर्ण विषयमा स्पष्ट धारणा प्रस्तुत गरेनन् ।
उक्त जलमार्ग अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेपछि इरानले बन्द गरेको छ । ट्रम्पले वार्तामा इरानी नेतृत्वले अमेरिकी सर्त नमाने युद्ध थप चर्किन सक्ने संकेत पनि दिएका छन् ।
उनले इरानको ऊर्जा तथा तेल पूर्वाधारमा थप आक्रमण सम्भव रहेको चेतावनी दिए । अहिले पाँचौँ हप्तामा पुगेको युद्धबारे सन्तुलित दृष्टिकोण राख्न उनले अमेरिकीहरूलाई आग्रह गर्दै यो अघिल्ला युद्धहरूको तुलनामा छोटो रहेको बताए । ट्रम्पले पेट्रोलियम मूल्यवृद्धि अस्थायी रहेको र यसको मुख्य कारण इरानकै गतिविधि भएको दाबी गरेका छन्।

