शनिबार, बैशाख ०८, २०८१

कृष्ण अष्टमीको अवसरमा कृष्ण मन्दिरमा भक्तजनहरुको भीड

काठमाडौं,३० साउन । हिन्दूहरुको ठूलो चाडमध्येको एक श्रीकृष्ण जन्माष्टमी आज देशभर मनाइँदैछ ।

साउनको अन्तिम सोमबार पनि आजै परेकाले देशभरका कृष्ण र शिवका मन्दिरहरुमा भक्तजनको भीड देखिन्छ ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरुको भीड देखिन्छ । भूकम्पले क्षति पुगेको कृष्ण मन्दिरको पुनर्निर्माण भइरहेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कृष्ण भगवानको पूजाअर्चनाका लागि आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको भीड लागेको छ ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।