काठमाडौं,३० साउन । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको गृह मन्त्रालयले जनाएको छ । २३ जना बेपत्ता भएका छन् ।
लगातारको वर्षापछि तराई मधेसका अधिकांश जिल्ला डुवानमा परेका छन् । सबै स्थान जलमग्न भएपछि उद्दार तथा राहतको कार्य समेत प्रभावकारी हुन सकेको छैन ।
सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
गृह मन्त्रालय अन्तरगर्तको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार ३२ जना घाइते भएका छन् । बाढी तथा पहिरोकाका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
तत्काल २ लाख राहत
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल भएको थियो । धेरै मन्त्रीहरुले घोषणा गर्नुपर्ने आवाज उठाएका थिए । तर संकटग्रस्त घोषणा भने हुन सकेन ।
बैठकपछि सन्चारमन्त्री माेहनबहादुर बस्नेतले भने, ‘राष्ट्रिय संकट घोषणा गर्ने स्थिति अहिले भइसकेको छैन ।’
बैठकले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि गरेको छ । साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको बैठकपछि सन्चारमन्त्री बस्नेतले जानकारी दिए ।
