शुक्रबार, बैशाख १४, २०८१

संविधान संशोधन प्रक्रिया निहित स्वार्थबाट प्रेरित : रावल

काठमाडौं,२८ साउन । एमाले उपाध्यक्ष भीम रावलले सत्तारुढ दल र राजपाबीच संविधान संशोधन प्रक्रिया अघि बढाउन भएको सहमति राष्ट्रिय एकता, जनताको स्वभिमान र मधेशी जनताको हितको पक्षमा नरहेको बताउनुभएको छ ।

संशोधन प्रक्रिया अघि बढाउने निर्णय सम्बद्ध पक्षको निहित स्वार्थबाट प्रेरित भएको पनि उहाँले बताउनुभयो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा मण्डलका नेताहरुको बिहिबार अपरान्ह भएका बेग्लाबेग्लै भेटवार्तापछि संशोधन प्रक्रिया अघि बढाउन दुबै पक्ष तयार भएका हुन् । विदेशमन्त्रीको सल्लाह बमोजिम नै शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सत्तापक्ष र राजपाबीचको बैठकमा संशोधन अघि बढाउने सहमति भएको थियो ।

‘कांग्रेस, माओवादी केन्द्र र राजपाले अहिले फेरि संविधान संशोधनको प्रस्ताव मतदानमा लैजाने सहमति गरेका छन् । यो आ–आफ्नो स्वार्थको दुनो सोझ्याउन गरिएको प्रयास हो’ एमाले उपाध्यक्ष रावलले भन्नुभयो, ‘यो प्रस्ताव राष्ट्रिय एकता, नेपाली जनताको स्वभिमान र मधेशी जनताको हितको पक्षमा छैन ।’ उहाँले राष्ट्रविरोधी र जनताबिरोधी प्रस्तावको बिपक्षमा एमाले रहेको संकेत गर्नुभयो ।

विगतमा पनि यी तीन पक्षले संविधान संशोधनलाई प्रक्रियामा अघि बढाएको तर अन्त्यमा फिर्ता लिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचन सम्पन्न गर्ने, जनमतका आधारमा राज्य संचालन गर्ने भन्ने पक्षमा उहाँहरु हुनुहुन्न, बिगतमा के स्वार्थ मिल्यो, प्रक्रिया अघि बढाउनुभयो, पछि के मिलेन संसदमा प्रस्तुत गर्नुभएन ।