जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग आफू अहिले पनि संवादमा नै रहेको बताएका छन् ।
धनुषा–४ मा शुक्रबार नेता महेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबीचको मतभेद समाप्त हुने क्रममा रहेको बताए । उनले पार्टीमा केही मतभेद भएपनि अहिले एकढिक्का भएर चुनावी अभियानमा जुटेको बताए ।
उनले भने, ‘म पार्टीका निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु । हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एकढिक्का हुन्छौँ । अहिले एकढिक्का छौँ ।’
उनले मुलुकलाई अहिले सम्हाल्ने शक्ति चाहिएको र त्यो काम कांग्रेसले नै गर्ने बताएए । उनले ध्वंश र उत्तेजनाभन्दा पनि मुलुकलाई सम्हाल्ने शक्तिको अहिले जरूरी रहेको बताए ।
उनले भने, ‘अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ । कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ। कांग्रेस आफू बदलिएर आएको छ, देशको अवस्था बदल्छ।’

