शुक्रबार, फागुन ०१, २०८२

नेपाल केन्द्रित डिजिटल ट्राभल प्लेटफर्मको औपचारिक लोकार्पण गरि संचालन

काठमाडौं । जापानमा कर्मथलो बनाई विभिन्न क्षेत्रमा सफल हासिल गरेका ४ जना नेपालीको लगानीमा नेपाल केन्द्रित डिजिटल ट्राभल प्लेटफर्मको औपचारिक लोकार्पण गरी संचालन गरिएको छ ।

मातृभूमि नेपालमा फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रलाई केन्द्रमा राख्दै डिजिटल ट्राभल प्लेटफर्मको औपचारिक सुरुआत गरिएको हो ।
जापानका प्रभावशाली व्यक्तित्वहरूको सक्रियतामा नेपाल केन्द्रित डिजिटल ट्राभल प्लेटफर्म ebookingnepal.com को नेपाल सरकारका प्रवक्ता तथा संचारमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा मंगलबार काठमाडौंको होटल मल्लमा एक औपचारिक कार्यक्रम गरी सुरुआत गरेको हो।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर भइरहेको विकास र विस्तारले मानिसहरूको दिनचर्यालाई छरितो, सहज र व्यवस्थित बनाउँदै आएको छ । यसले जीवनलाई अझ रोमाञ्चकसमेत बनाएको छ ।

नेपालको फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रमा उच्चस्तरीय सूचना प्रविधिको अधिकतम उपयोग अपरिहार्यजस्तै बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरुआत गरिएको संचालक भूपाल श्रेष्ठले जानकारी दिनु भयो ।

डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझ बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको ebookingnepal.com ले नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ । उक्त प्लेटफर्मको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसहित पर्यटन, प्रविधि, अर्थ लगायत विभिन्न क्षेत्रका सरोकारवाला विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा व्यक्त गरिएका विचार, महत्व र सुझावहरू आयोजकका लागि प्रेरणादायी रहेको बताइएको छ ।

यस प्लेटफर्मले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउँदै राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्ने योजना पनि ebookingnepal.com को रहेको छ ।

उक्त कार्यले स्थानीय पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विभिन्न डिजिटल उपकरणहरू पनि उपलब्ध गराउने जनाएको छ । अत्याधुनिक एआई प्रविधिको प्रयोग तथा नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिने यस प्लेटफर्मले यात्रुहरूलाई खोजदेखि बुकिङसम्म सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।