बिहिबार, असोज २४, २०८१

भरतपुर महानगरमा लोकतन्त्रको हार भयो : नेता खनाल

काठमाडौं,२३ साउन । एमाले नेता झलनाथ खनालले पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सरकारले सत्ताको दुरुपयोग गरेर विजयी भएको भन्दै लोकतन्त्रको हार भएको भन्दै टिप्पणी गरेका छन् ।

एमाले नेता खनाल गृहजिल्ला इलाम जाने क्रममा सोमबार झापाको बिर्तामोडमा प्रेस चौतारीले गरेको साक्षात्कारमा बोल्दै, ‘मतपत्र च्यातेर दोहोरो निर्वाचन गराउनु नै षड्यन्त्र हो । यसपटक त्यहाँ लोकतन्त्रले हारेको छ ।

सरकारले गरेको कर्तुतको कुनै दृष्य नेपाली जनताले हेर्न बाँकी नरहेको भन्दै उनले ‘लोकतन्त्रले हारे पनि नेपाली जनताले हारेका छैनन्’, साथै उनले थपे, ‘एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ । भरतपुरको वडा नं.१९ मा यसअघि नै आफूहरुले जितिसकेको भन्दै उनले मतपत्र च्यातेर जनतालाई खल्बल्याउने काम भएको बताए ।

त्यस्तै उनले शुक्रबार भएको निर्वाचनको लागि मौन अवधीमा पनि ११ वटा गाडी चलाइएको दावी गरे । ‘दुई वटा गाडीलाई मात्र पास दिइँदा पनि ११ वटा गाडी चलाइए’, उनले भने ।

सर्वोच्च अदालतको पुनः मतदान हुनु पर्ने निर्णयप्रति लक्षित गर्दै उनले अपराध गर्नेलाई प्रोत्साहन मिलेको बताए । ‘अदालतको निर्णय दुर्भाग्यपूर्ण हो’, उनले थपे । त्यस्तै नेता खनालले तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने दाबी गरे ।