चितवन,२१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।
१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए। १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन्। उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी छिन्।
निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार दाहाल दुई सय ३ मत अन्तरले विजयी भएकी हुन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् ।