सोमबार, भदौ २४, २०८१

सोलार प्लान्ट परियोजनामा अनियमितता भएको छैन :विश्व बैंक

काठमाडौं,२१ साउन । विश्व बैंकले सोलार नेपाल विद्युत प्राधिकरणका अधिकारीमाथि लागेको अनियमितताको आरोपको खण्डन गरेको छ । उसले सोलार प्लान्टको खरिद प्रक्रियामा प्राधिकरण पछिल्लो समयमा गरेको निर्णयहरु आफ्नो अन्तर्राष्ट्रिय तवरमा प्रचलित खरिद प्रक्रियाअनुसार नै भएको स्पष्ट गरेको छ ।

विश्व बैंकले आफ्नो लगानी रहेको २५ मेगावाटको सोलार प्लान्ट आयोजनामा कुनै विधि र प्रक्रिया नमिचिएको स्पष्ट गरेको हो । मंगलबार संसदको लेखा समितिको बैठकले सोलारको टेण्डर प्रक्रियामा प्राधिकरणको योग्य कम्पनीलाई ठेक्का दिने निर्णय अनियमित भन्दै रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो ।

अहिले टेण्डर प्रक्रिया विवाद झिकेर प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि सांसदहरुले प्रश्न उठाएका छन् । तर, बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै  विश्व बैंकले प्राधिकरणले अपनाएको प्रक्रियाको समर्थन गर्दै प्राधिकरणका अधिकारीहरूको बचाउ गरेको छ ।

विश्व बैंक र नेपाल सरकारबीच भएको वित्तीय भएको सम्झौता अनुसार नै प्लान्ट स्थपनाको प्रक्रिया अघि बढेको उसले स्पष्ट गरेको हो ।  बैंकले अाफूले काम गर्ने १ सय ८९ मुलुकले गरेको अभ्यास र खरिददारी नीतिको अवलम्बन यो आयोजनामा पनि गरिएको जानकारी गराएको छ ।

बैंकले सोलार प्लान्टका सन्दर्भमा हालै सञ्चार माध्यमहरुमा आएको सामाग्रीहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘समाचारमा आएका विषयहरुको बारेमा हामीले सरोकारवाला निकायहरुबाट कुनै किसिमका आधिकारिक जानकारी पाएका छैनौं, त्यसैले आगामी दिनमा सो आयोजनामा विश्व बैंकको भूमिका के हुन्छ भन्ने अहिले अपरिपक्व हुनेछ,’ नेपालको लागी विश्व बैंकको तर्फबाट देशीय प्रबन्धक ताकुया कमाटाले विज्ञप्तिमार्फत भनेका छन् ।

विश्व बैंकले अहिलेसम्म आफ्नो ऋण लगानी हुने सबै देशमा अपनाइने प्रक्रियालाई सोलार प्लान्टमा पनि अपनाइएको स्पष्ट गरेको छ ।