काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी शर्माले अभियान घोषणा गरेका हुन् । उनले राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको आफूहरुले अभियान घोषणा गरेको बताए ।
शर्माले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताए । उनले प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरेको समेत आरोपसमेत लगाए ।
उनले भने, ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ । त्यसको अधिकार क्षेत्रभित्र नै छैन । आयोजक समितिले महाधिवेशन मात्र गर्ने हो ।’
उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको दाबी गरे । माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न नौ पार्टीले बुधबार एकता घोषणा गर्दैछन् ।
तर शर्मा पार्टी एकताको विपक्षमा छन् । पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि साथमा थिए ।

