आइतबार, कार्तिक १०, २०८२

जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : संयोजक प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका हुन् ।

अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन । राष्ट्र बचाउनु नै मुख्य हो । आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु,उनले भने, तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन । अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन ।
प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिवर्तित समयमा मधेसमा जेनजी युवाहरू सहितको सहभागितामा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठुलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताए । उनले नयाँ युगको सुरुवात भएको घोषणा समेत गरे ।
संयोजक प्रचण्डले आफू जेनजी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेसमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भने,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेनजी थियौँ। आजको दिनमा मधेसमा पहिलो पटक ६०५ जना जेनजी युवाहरूसहित माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।

अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ । अरूले जेनजीका मागहरू पूरा गर्दैनन् । माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ ।”

संयोजक प्रचण्डले देश सङ्कटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए ।

यसमा तपाईको प्रतिक्रिया