काडमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघभित्रको विवाद अन्त्य गरी भावनात्मक एकता कायम गर्ने घोषणा गरेका छन्। संघको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, धेरै पटक एकता भन्दै नाममात्रको एकता भयो, अब एकता निश्चित छ ।
कुनै पनि पक्षले आफ्नो प्रभुत्व वा अरूको सम्मान नगरी गरिने एकताको अर्थ हुँदैन। हामी अहिले एकताको नजिक पुगेका छौं। हरेक दिन महेशजीसँग ८ घण्टा कुरा हुन्छ। दुई दिनभित्र परराष्ट्र मन्त्रालयमा सबैलाई साक्षी राखेर पूर्ण एकता हुनेछ।’
डा. केसीले निर्वाचनमा उपविजेता हुनेहरूले समानान्तर गतिविधि सञ्चालन गरेको र त्यसमा नेपालका राजनीतिक दलहरूको संरक्षणले विवाद उत्पन्न भएको दाबी पनि गरेका छन्। उनले थपे, ‘एकताको लागि आजैबाट स्टेप डाउन गरेर अघि बढ्ने मेरो प्रस्ताव छ। महेश श्रेष्ठ र आरके शर्माका मागहरूलाई हामी लिपिबद्ध गर्दैछौं। अब एकता निश्चित छ।’
सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूको ज्ञान, सीप, प्रविधि र पुँजी मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्य राखेको हो। हाम्रो प्रयासले संघ देश-विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ। स्थापनाको २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरी नेपाली समुदायलाई एउटै छतमा जोड्ने काम भएको छ।
संघभित्रको असहज परिस्थिति अन्त्य गर्न हामी प्रयासरत छौं। वैधानिक सर्वोच्चता कायम गर्दै अधिकतम लचकता अपनाएर फरक धारामा रहेका साथीलाई समाहित गर्दै बृहत् एकताको वातावरण निर्माण गर्ने हाम्रो उद्देश्य हो। हामीले १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी, संघलाई संस्थागत रूपमा सबल, समावेशी र उत्तरदायी बनाउने योजनामा केन्द्रित हुने छौं। विवाद रहेका केही राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा पनि पारस्परिक संवादको आधारमा प्रक्रिया अघि बढाइनेछ।
संघको २२ वर्षको यात्रालाई नियाल्दै डा. केसीले भने, ‘गैरआवासीय नेपालीहरूले विकास र पूर्वाधार क्षेत्रमा उल्लेख्य लगानी गरेका छन्। जलविद्युत, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा हाम्रो योगदान बढ्दै आएको छ। संघमार्फत परोपकारी कार्यहरू पनि भएका छन्। विदेशमा बसेर समाज र सरकार बुझ्ने नेपालीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।’
गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन सबै नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकाय र सञ्चार माध्यमको योगदान महत्वपूर्ण रहेको भन्दै केसीले सबैलाई धन्यावाद दिए ।