काठमाडौं । जेन-जी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेका छन् ।
फरार कैदी राप्ती गाउँपालिका-१ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए ।
सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । सुरज र आकाश चिनजानकै साथी भएको प्रहरीको भनाइ छ । घटनापछि आकाश फेरि भागेका छन् ।
अनुसन्धानको क्रममा आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । फरार सयौं अझै बाहिरै छन् ।
यसअघि जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए ।