काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् । राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सबैलाई विश्वस्त पार्न सरकारलाई सुझाव दिनु भएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।
भेटमा संलग्न सञ्चारमन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकै बारे छलफल भएको छ । ‘सरकार, राजनीतिक दल, जेनजी लगायत सबै चुनाव समयमै हुने कुरामा स्पष्ट भएर जानुपर्छ भन्ने राष्ट्रपतिको सुझाव सरकारले ग्रहण गरेको छ,’ खरेलले भने, ‘चुनाव समयमा गर्ने कुरामा राष्ट्रपतिको पनि स्पष्ट धारणा छ । त्यसैले मुलुकका सबैको मिसन चुनाव मात्रै हो त्यही तर्फ सबैको ध्यान हुनुपर्छ भन्ने छ ।
सरकार बने यता राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन । राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेलललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार शीतल निवासमा चुनावमै केन्द्रित भएर करिब ४० मिनेट छलफल गरेका हुन् ।