सोमबार, असोज २१, २०८१

भरतपुर महानगरपालिका १९ मा निर्वाचन तयारी पूरा

चितवन,१९ साउन । पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रका प्रतिनिधीले मतपत्र च्यातेपछि अनिश्चित बनेको  भरतपुर महानगरपालिका वडा नं. १९ मा भोलि शुक्रबार हुने पुनः मतदानको तयारी पूरा भएको छ ।

मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिइसकेका छन् भने मतपत्र लगायतका निर्वाचन सामाग्री पनि पुर्‍याइसकिएको छ । मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मतदान स्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

गएराती आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध बनेपछि काठमाडौं लगायतका र अन्य स्थानबाट आउने मतदाताहरूलाई समस्या परेको छ । लामो समय पानी नपरेका कारण रोपाइँ गर्न नपाएका किसानहरू गएरातिदेखि अबिरल वर्षा भएपछि धान रोप्न व्यस्त छन् ।

भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेका छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जानगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।

शारदानगर माविमा गंगाधर रिमाल र रामकृष्ण सिम्खडा, किरणगञ्जमा ज्ञानहरि पौडेल र शिवराज पन्थी, जीवनज्योति माविमा भक्तबहादुर सेन्चुरी, नारायण पौडेललाई मतदान अधिकृत तोकिएको छ ।