शनिबार, असार १३, २०८३

रास्वपा विवाद: तोसिमाद्धारा संस्थापनविरुद्ध भण्डाफोर गर्ने चेतनावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं पूूर्वसांसद तोसिमा कार्कीले पार्टी संस्थापनविरुद्ध आक्रोश पोखेकी छिन्। उनले रुपान्तरण गरौँ भन्दा गेटआउट भनेर प्रहार गरिएको भन्दै भण्डाफोर गर्ने चेतनावी दिएकी छिन्।

‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ र समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा गेटआउट भनेर बुल्ली गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्,’ उनले लेखेकी छन्।

आफूले पार्टी बनाउने उद्देश्यका साथ ४ बुँदे पत्र बुझाएको भए पनि राजीनामा दिन लागेको भनेर प्रचार गरिएको कार्कीको भनाइ छ। उनको प्रश्न छ, ‘कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेस गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययनसमेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पंक्तिमा भ्रम छर्न खोज्नेरु’

उनले हिम्मत भए पार्टी संस्थापनले विशेष अधिवेशन गर्नुपर्ने समेत चुनौती दिएकी छिन्। ‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग,’ कार्कीले लेखेकी छिन्।

फेसबुकमा पोस्ट राख्दै बैठकमा भिन्न विचार राख्दा गेटआउट भनेपछि आक्रोस पोखेकी उनलाई कसले गेटआउट भनेको भनेर नामचाहिँ खुलाएकी छैनन्।