शुक्रबार, बैशाख ०४, २०८३

एनआरएनएका अध्यक्ष डा. केसीको नेतृत्वमा प्रधानमन्त्री कार्कीलाई भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीको नेतृत्वले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेको छ ।
संघको केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटवार्तामा एनआरएनएले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सक्रिय र समर्पित सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
अध्यक्ष डा. केसीले विश्वभर फैलिएका एनआरएन सदस्यहरू मातृभूमिको आर्थिक सबलीकरण, सामाजिक प्रगतिसँगै समृद्धिको यात्रामा सधैं सरकारसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्रीले पनि राष्ट्र पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सकारात्मक दृष्टिकोण व्यक्त गर्नुभयो ।
एनआरएनएको “एक पटकको नेपाली, सधैं नेपाली” भन्ने मूल मन्त्र अनुरुप, हामी जहाँ भए पनि मातृभूमिको सेवामा अडिग, निष्ठावान् र समर्पित प्रतिबद्ध गरेको एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनु भयो ।