काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन् ।
काठमाडौंमा प्रगतिशील लेखक संघ, नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्न चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताए ।
‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यू कि उहाँले केही अडान लिनुभएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरू बचेको बताए ।
तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरूले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । जेनजी अभियन्ताहरू रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरू शक्तिहरूले चलखेल गरिरहेको जिकिर गरे ।

