टोकियो,१८ साउन । धनीहरूको संस्था भनेर चिनिने गैर आवासीय नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यकालको लागि उम्मेदवारी तिर्नुपर्ने शुल्क चौतर्फी बिरोधपछी घटाएको छ ।
एनआरएनए जापानले हिजो मंगलवार एक विज्ञप्ति जारी गरी नयाँ नेतृत्वका आकांक्षीहरुलाई उम्मेदवारी दिन एक लाख देखि छ लाख जापानी येनसम्म शुल्क लाग्ने सूचना जारी गरेको थियो । तर, यसको चौतर्फी विरोध पश्चात् उम्मेदवारी शुल्क घटाएको हो ।
नयाँ व्यवस्था अनुसार सदस्यमा उम्मेदवार हुन चाहनेले ७० हजार जापानी ऐन बुझाउनु पर्ने छ । यस्तै सह–कोषाध्यक्षका लागि एक लाख, कोषाध्यक्षका लागि एक लाख २० हजार शुल्क लाग्ने छ ।
यस्तै सचिवका लागि एक लाख ५० हजार र महासचिवका लागि एक लाख ८० हजार जापानी येन शुल्क तिर्नुपर्ने छ ।
उपाध्यक्षका लागि दुई लाख १० हजार, बरिष्ठ उपाध्यक्षका लागि दुई लाख ५० हजार जापानी येन उम्मेदवारी शुल्क लाग्ने छ । अध्यक्षका लागि तीन लाख र आईसीसी सदस्यका लागि तीन लाख ५० हजार जापानी येन उम्मेदवारी शुल्क लाग्ने विज्ञप्तिमा जनाएको छ ।
यस अघि उम्मेदवारी दर्ता शुल्क महंगो राखिएको भन्दै एनआरएनए जापानको चर्को आलोचना भएको थियो । आइसीसीमा उम्मेदवार हुन भन्दा बढी शुल्क राखिएको भन्दै जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानको आलोचना गरेका थिए ।
एनआरएनए जापानले बुधबार फेरि अर्को सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सहित उम्मेदवारका लागि नयाँ शुल्कको व्यवस्था गरेको हो ।