शुक्रबार, कार्तिक २२, २०८२

विपन्नको उपचारका लागि बीमामार्फत एकद्वार प्रणालीबाट सुविधा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरुवात गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् । योसँगै अब नागरिकले ८ प्रकारका कडा रोगको उपचारबापत पाउने सुविधा स्वास्थ्य बीमामार्फत एकद्वार प्रणालीबाट प्राप्त हुने मन्त्री पौडेलले जानकारी दिए ।

यसको मुख्य लक्ष्य भनेको छरिएर रहेका विभिन्न स्वास्थ्य सुविधाहरूलाई एउटै छातामुनि ल्याएर नागरिकलाई एकीकृत र सहज सेवा प्रदान गर्नु हो । निर्देशिकामा राज्यको स्रोतको कुशल एवं पारदर्शी परिचालनका लागि बीमा बोर्डमार्फत दाबी भुक्तानी गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेका गरिएको छ । साथै, एकीकृत भएको यो सेवा लिन अनिवार्य रुपमा स्वास्थ्य बीमा भएको हुनु पर्ने प्रावधान राखिएको छ ।

यस व्यवस्थाले उपचारमा लागेको खर्च वापत गरिने दाबी–भुक्तानीमा सम्भावित दोहोरो दाबीको अन्त्य गर्ने र राज्यकोषको मितव्ययी रुपमा उपयोग हुने तथा बीमा कार्यक्रममा नागरिक सहभागिता बढाउने र एकीकृत सामाजिक स्वास्थ्य सुरक्षा प्रणाली निर्माण हुने विश्वास लिएको मन्त्री पौडेलले बताए ।

अब नागरिकले पाउने एकीकृत सुविधाः

– मिर्गौला रोगका लागिः हेमोडाइलाइसिस सेवा निःशुल्क,

– मिर्गौला प्रत्यारोपणका लागि कुल ७ लाख ५० हजार (विपन्न सुविधाका लागि बीमामार्फत थप एक लाख प्राप्त हुने)
साथै, मासिक ५ हजार जीवन निर्वाह भत्ता ।

– आठ (८) प्रकारका कडा रोगहरू (मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया) का लागि : बीमा र विपन्न सुविधासमेत गरी ३ लाख बराबरको उपचार सेवा ।

– मुटुको भल्भ सर्जरी (१५ वर्षमुनि र ७५ वर्षमाथि) का लागिः गंगालाल र मनमोहन अस्पतालमार्फत निशुल्क अप्रेसन खर्च र बीमा मार्फत थप २ लाखको सुविधा ।