सोमबार, माघ ०६, २०८२

मन्त्री फेरबदलबारे कांग्रेस र एमालेका शीर्ष नेताबिच छलफल

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

भेटमा सहभागी एक नेताका अनुसार सरकारको काम अझ प्रभावकारी बनाउन, कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले बैठकमा गरेका थिए ।
ओलीको प्रस्तावमा देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए ।

एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ । भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् ।

त्यो बाहेक बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि बैठकमा कुराकानी भएको थियो ।