सोमबार, माघ ०६, २०८२

कैलाली कारागार अझै कैदीबन्दी नियन्त्रणमा

धनगढी । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको झडपको घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएर तनावग्रस्त रहेको कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ । कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् ।

कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।

सोही कारण घटनाको ३६ घण्टा बितिसक्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् ।

१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ