विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौँको बौद्ध महाचैत्य परिसरमा घोनाई अर्थात रोपाइँजात्रा मनाइने भएको छ ।गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले आज पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा आगामी साउन २६ गते भव्य रुपमा मनाउने जनाएको हो ।
विभिन्न १३ वटा विधामा प्रतिस्पर्धीहरूलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको आयोजक समितिका संयोजक जयमंगल लामाले जानकारी दिनुभयाे । समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम छ। बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाई जात्रा (घोनाई) यस क्षेत्रको पहिचानका रूपमा छ।
कार्यक्रम अन्तर्गत रोपाइँ जात्राको दिन बौद्ध स्तुपाको परिक्रमा गर्दै फूलबारी, बौद्ध गेट, पिपलबोट मार्ग हुँदै पुनः स्तुपामा परिक्रमा गरिनेछ। काठमाडौं महानगरपालिका– ६ का वडाअध्यक्ष भुवन लामाले ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि महानगरबाट यस वर्ष १५ लाख विनियोजन गरिएको जानकारी दिनुभयाे । आफ्नो टोल समाजमा भएका संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्ने वहाँकाे भनाई छ । परम्परागत रूपमा काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा पर्वको भोलिपल्ट मनाउने बौद्धको रोपाईजात्राको विशेष महत्व छ ।
मल्लकालमा समृद्ध राज्यहरुमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ । मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गरिन्छ । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजा देखि प्रजासम्मले रोपाइँ जात्रामा सहभागी भई कृषकसँग खुसीका हातेमालो गर्दथे । विशेषतः तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यस जात्रामा सहभागी हुन्छन् ।
बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ । यसले साँस्कृतिक एवम् जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो बौद्धको रापाइँ जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके विश्व संम्पदा सूचीमा रहेको यस क्षेत्रको पर्यटन प्रवर्धन हुने देखिन्छ ।

