टोकियो,१५ साउन । पत्रकार तिलक मल्लले न्यूज – २४ मा बिहीबार साँझ प्रसारित टेलिभिजन कार्यक्रम ’सिधा कुरा जनतासंग’ मा गोविन्द तिवारी ठगी प्रकरण सम्बन्धमा प्रसारण गरिएको सामाग्रीमा आफुमाथि लगाईएको आरोप बिल्कुल निराधार र झुठो भएको भन्दै उक्त कार्यक्रमबाट आफुमाथि अन्याय भएको बताएका छन् ।
पत्रकार मल्लद्वारा जारी गरिएको बिज्ञप्ती जस्ताको तस्तैः
बिहीबार साँझ प्रसारित उक्त टेलिभिजन कार्यक्रममा (तत्काल पुरै हेर्न नपाएकोले पछि हेर्दा थाहा भएअनुसार) लगाईएको कपोलकल्पित आरोपको खण्डन गर्दै केही कुराहरु स्पष्ट पार्न चाहान्छु ।
१. निज तिवारीसंग जापानमा असुल गर्न नसकेको नितान्त ब्यक्तिगत लेनदेनको ब्यवहार नेपालमा मिलाउँछु भनेकोले बिश्वासको आधारमा बैंक एकाउन्ट दिएकोमा तिवारीले मलाई झुक्याएर असम्बन्धित मान्छेहरुलाई रकम हाल्न लगाई फसाएको कुरा मैले धेरैपटक भन्दै आईरहेको छु । साथीभाइको हिसाबले बिश्वासको आधारमा गरिएको उक्त निजी कारोबारबाट अन्जानवश उत्पन्न समस्यालाई बल्झाएर भन्दा आपसी सहमतिमा सल्टाउनु श्रेयस्कर ठानिएकोले भुलभुलैयामा त्यसरी रकम पठाउने पीडितहरु, तिवारी परिवार र मेरो सहमतिमा समस्या सल्टाउन गरिएको लामो प्रयास पछि पीडितहरुले रकम फिर्ता पाएर घर फर्किसकेका छन् । ती बाहेक अमृता ढकाल लगायतका अन्य पीडित भनिएकाहरुसंग म र सुदर्शन मल्लको कुनै सरोकार छैन ।
हामी दुई पक्षलाई झुक्याएर कारोबार गरेका तिवारीका कारण उत्पन्न समस्या भएता पनि ती पीडितलाई रकम फिर्ता दिलाउनु मेरो दायित्व सम्झी तिवारी परिवारबाट रकम फिर्ता पठाउने पहल गरिएको हो । यस निजी कारोबार बाहेक तिवारीको ठगी धन्दामा मेरो कुनै संलग्नता छैन । संलग्नता भएको भएको भए पीडितहरुले अहिलेसम्म किन प्रमाण पेश गर्न सकेनन् ? उनीहरु एक वर्षसम्म किन मौन बसे ? जबरजस्ती दोषारोपण गरेर मात्र हुँदैन । प्रमाणित गरेर देखाउन चुनौती दिन चाहान्छु ।
२. सिधा कुरा जनतासंग कार्यक्रमप्रति मेरो असाध्यै सम्मान थियो तर उक्त दिनको कार्यक्रममा कमसेकम तथ्यमा टेकेर सत्य कुरा बोल्नुपर्नेमा एकपक्षिय र नियोजित ढंगले कसैलाई खुईल्याउने हिसाबले प्रसारण गरिएकोमा खेद ब्यक्त गर्दछु । उक्त कार्यक्रमबाट आफुलाई हदैसम्मको अन्याय भएको महशुस गरेको छु । पीडित हो भन्दैमा उसले दिएको सूचना सबै सत्य हुन्छन भन्ने के आधार छ ?
कार्यक्रममा राजनीतिक शक्तिको आडमा घटनालाई मत्थर पार्न खोजिएको भन्ने आरोप सुन्दा आश्चर्य लाग्यो । मैले कुनचाँही शक्तिकेन्द्रको सहारा लिएछु, नाम पनि भनिदिएको भए आभारी हुनेथिएँ । यसरी होचुवाको भरमा आधारहिन कुरा नगर्न सुझाव दिन चाहान्छु । आफु बिदेशमा भएकोले मेरै जिल्लाबासी गाउँको साथी सुबास बिकलाई काठमाडौंमा सरसहयोग गर्न अनुरोध गरेको हुँ । सोही अनुसार उहाँले मलाई सहजीकरण मात्र गर्नुभएको जानकारी गराउन चाहान्छु ।
३. तिवारीलाई नेपाल फिर्ता पठाउन नेपाल सरकारका प्रहरी प्रशासन, जापानस्थित नेपाली राजदूतावास, यहाँको नेपाली समुदाय र जापान प्रहरी लागिरहेको कुरो सर्बबिदितै छ । संभवत तिवारी छिट्टै नेपाल फर्काईनेछन र सजायको भागिदार हुनेछन ।
त्यस्तो ब्यक्तिलाई जापान जस्तो मुलुकमा मैले संरक्षण दिएर राखेको भन्ने कुरो विवेक हुने जो कसैले पनि पत्याउनै नसक्ने कुरो हो । जिम्मेवार मिडियाले यस्तो हावादारी कुरा गरेर आफ्नो बिश्वसनीयता नघटाउन र आम जनमानसमा भ्रम नफैलाउन अनुरोध छ ।
४. अमृता ढकालजीसंग ब्यक्तिगतरुपमा मेरो कुनै चिनजानी छैन र कुनै आग्रह पूर्वाग्रह पनि छैन । त्यसैगरी तिवारी प्रकरणमा कुनै सरोकार छैन र पीडित हुँ भन्दैमा मिडियालाई हात लिएर निर्दोष ब्यक्तिलाई निराधार आरोप नलगाउन अनुरोध छ, सक्नुहुन्छ भने सप्रमाण दोषी साबित गरेर देखाउन चुनौती छ ।
रोगको निदान गरेर उपचार गरौं, अन्धाधुन्धा प्रहार नगरौं । आवेगमा निर्दोष मान्छेको चरित्र हत्या गरेर क्षणिक सन्तुष्टि त मिल्ला तर भोलि त्यसैका कारण भतभती पोल्ने दिन नआउला भन्न सकिन्न ।
के कसरी हुन्छ समस्याको समाधानतिर जाऔं, आ-आफ्नो ठाउँबाट सबैले सहयोग गरौं । मिडियाबाजी र सामाजिक सञ्जालको दुरुपयोग गरेर निकास कहिलै भेटिदैन । मिडियाले पनि हल्लाको भरमा एकपक्षिय कुरा सुनेर निर्दोषमाथि अनाहकमा अन्याय नथोपरोस् । सत्य कुरामा चुक्नुहुँदैन, नभएको कुरामा तीललाई पहाड बनाउनु हुँदैन । यद्यपि दोषीले हदैसम्मको सजायँ पाउनुपर्छ, पीडितले न्याय पाउनुपर्छ ।