काठमाडौं ।श्री बौद्धनाथ क्षेत्र विकास समितिले का.म.पा वडा नं ६ वासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने भएको छ ।
मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले विकास समितिले का.म.पा वडा नं ६ वासीलाई मृत्यु संस्कारमा सहज होस भनेर सहयोग स्वरुप निशुल्क काठ दाउरा उपलब्ध गराउने उदेश्य सहित काठ दाउरा उपलब्ध गराउने भएको हो ।
आज श्री बौद्धनाथ क्षेत्र विकास समिति र नेपाल वन निगम लिमिटेड विच काठ खरिदको लागी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक मोहन कुमार लामा, समितिका सदस्य पशुपतिनाथ खतिवडा, नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन बहादुर खड्का नेपाल वन निगम लिमिटेडका उपप्रवन्धक अनिल राज पाण्डेय सहायक प्रवन्धक शुष्मा आचार्य, जम्मु धुर्साका अध्यक्ष आले लामा लगायतको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था कमजोर भएकै कारण दाउरा किन्ने पैसासमेत अभाव भई दाहसंस्कार गर्न कठिनाइ भोगिरहेका परिवारहरूको पीडामा मलम लगाउने उद्देश्यका साथ उक्त कार्य अगाडी बढाइएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए ।

