शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापानको निर्वाचन निष्पक्ष, धाँधलीरहित वातावरणमा सम्पन्न हुन्छ: निर्वाचन आयुक्त मल्ल

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले निर्वाचन पूर्णतः निष्पक्ष, धाँधलीरहित र उच्च प्रविधिको प्रयोग गरी सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार महाधिवेशन समारोहमा सम्बोधन गर्दै प्रमुख आयुक्त मल्लले जापानको नेपाली समुदायको एकता, प्रतिष्ठा र अनुशासनलाई कायम राख्दै एक उदाहरणीय निर्वाचन सम्पन्न गर्न आफ्नो टिम अहोरात्र खटिरहेको स्पष्ट पारेका हुन् ।

प्रमुख आयुक्त मल्लले निर्वाचन उदाहरणीय हुने बताए । ‘जापानमा हामी अनुशासन, मर्यादा र शालिनताको कुरा गर्छौं । हाम्रो निर्वाचन पनि त्यस्तै उदाहरणीय हुनुपर्छ,’ उनले भने, ‘कुनै पनि उम्मेदवार वा मतदाताले निर्वाचनको निष्पक्षतामाथि शंका गर्ने ठाउँ रहने छैन । हामी यसमा पूर्ण प्रतिबद्ध छौं ।’

अमेरिकी सफ्टवेयर ‘भोटाज’ मार्फत अनलाइन मतदान
प्रमुख आयुक्त मल्लले जुलाई २७ मा हुने निर्वाचनमा अत्याधुनिक र सुरक्षित मानिएको अमेरिकी सफ्टवेयर ‘भोटाज’ (VOATZ) मार्फत अनलाइन मतदान गराइने जानकारी दिए ।

उनले मतदान प्रक्रियाको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न बहु-चरणको प्रमाणीकरण प्रणाली अपनाइने विस्तृत रूपमा बताए । ‘मतदान प्रक्रिया अत्यन्तै सुरक्षित हुनेछ,’ उनले प्रस्ट्याए, ‘मतदाताले सुरुमा आफ्नो अनुहार प्रमाणीकरण (Facial Verification) गर्नुपर्नेछ । त्यसपछि आफूले सदस्यता लिँदा प्रयोग गरेको परिचयपत्र (ID Verification) प्रमाणित गर्नुपर्नेछ । यी दुवै चरण पार गरेपछि मात्र मतदाताको मोबाइलमा एउटा विशेष कोड आउनेछ र सोही कोड प्रयोग गरेर मात्र भर्च्युअल ब्यालेटमा प्रवेश गर्न सकिने छ र भोट हाल्न सकिनेछ ।’

उनले यो प्रणाली विश्वका शक्तिशाली राष्ट्रका सरकारहरूले समेत आफ्नो केन्द्रीय तथा प्रान्तिय निर्वाचनमा सफल प्रयोग गरिसकेको भन्दै यसको विश्वसनीयतामा ढुक्क हुन आग्रह गरे ।

आफ्नो सम्बोधनका क्रममा मल्लले अध्यक्ष नविन निउरे नेतृत्वको २०२३-२०२५ कार्यसमितिको कार्यकाललाई ‘ऐतिहासिक र स्मरणीय’ भन्दै प्रशंसा गरे । उनले निवर्तमान कार्यसमितिले हस्तान्तरण गरेको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने प्रतिबध्दता व्यक्त गरे ।
प्रमुख आयुक्त मल्लले निर्वाचनमा होमिएका सम्पूर्ण उम्मेदवारहरूलाई मर्यादित रूपमा प्रचारप्रसार गर्न र आफ्ना मतदातालाई मतदान प्रक्रियाबारे साक्षर बनाउन विशेष आग्रह गरे । ‘यो निर्वाचन जित-हारभन्दा पनि हाम्रो समुदायको एकता र लोकतान्त्रिक अभ्यासको उत्सव हो । यसलाई सौहाद्रपूर्ण बनाउनु हामी सबैको जिम्मेवारी हो,’ उनले भने ।

निर्वाचन समितिमा सदस्य-सचिव भूपिगोविन्द श्रेष्ठ र सदस्य केशर गिरी रहेको जानकारी दिँदै उनले आफ्नो टिमले जापानवासी नेपालीको विश्वासलाई किमार्थ टुट्न नदिने वाचा गरे ।