बुधबार, असार ०३, २०८३

एनआरएनए आईसीसी सदस्यमा शिवहरी पौडेलको उम्मेदवारी दर्ता

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी ) का लागि जापानमा लामो समयदेखि सक्रिय व्यवसायी, समाजसेवी तथा एनआरएन अभियानकर्ता शिवहरी पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।

पौडेलले आफ्नो उम्मेदवारीको घोषणा गर्दै एनआरएन अभियानमा सन् २०११ देखि सक्रिय रहँदै आएको स्मरण गरेका छन्। उनले एनआरएनए जापानमा डेलिगेट तथा सल्लाहकारको रूपमा महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेको उल्लेख गरेका छन्। यसबाहेक, हाल उनी नेपाली व्यवसायी संघ जापानको उपाध्यक्षको रूपमा पनि क्रियाशील रहेका छन्।

“एकता, सशक्तीकरण र समर्पणबाट मात्र समावेशी, पारदर्शी र प्रभावकारी एनआरएनए निर्माण गर्न सकिन्छ,” पौडेलले उल्लेख गरेका छन्। साथै, उनले यस अभियानमा सबैको साथ, सुझाव र विश्वासको आवश्यकता रहेको भन्दै आगामी जुलाई २७ मा हुने निर्वाचनमा आफूलाई भोट, साथ र समर्थन दिन आग्रह गरेका छन्।

“हामी सबै मिलेर, एनआरएनएलाई अझ मजबुत, न्यायपूर्ण र नेपाली हितमा काम गर्ने संस्थामा रूपान्तरण गरौं,” पौडेलले आफ्नो अपिलमा उल्लेख गरेका छन्।