काठमाडौं । सांस्कृतिक समाज नेपालको आयोजनामा राजधानी काठमाडौँमा भइरहेको ‘राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२’ ले आफ्नो पहिलो चरणको प्रतिस्पर्धा पूरा गर्दै फाइनल चरणमा प्रवेश गरेको छ।
देशका सातै प्रदेशका दोहोरी साँझहरूका प्रतिनिधित्व गर्दै सहभागी भएका ७० जना प्रतिस्पर्धीहरूबाट उत्कृष्ट ३२ जना छनोट भएका छन्।
सोमबार सुरु भएको प्रतियोगिता मङ्गलवार साँझसम्म रोमाञ्चक र कडा प्रतिस्पर्धामार्फत अघि बढ्यो। मङ्गलवार राति १० बजेसम्म दोहोरी गायनको घम्साघम्सी चलेको थियो। निर्णायक टिमले उत्कृष्ट १६ महिला र १६ पुरुष प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो। ती आज फाइनलमा भिड्नेछन् ।
छनोटमा परेका उत्कृष्ट महिला प्रतिस्पर्धीहरू
महिला तर्फबाट उत्कृष्ट १६ मा लुमा केसी, निशा लामा, आशा केसी, सपना रोक, संगीता थापामगर, सबिना कुँवर, शीतल कल्पना, बिमा अनुरागी, भावना अर्याल, खुस्बु सुनार, जमुन विश्वकर्मा, अर्चना चापागाईँ, जमुना सुनार, शर्मिला गुरुङ (सरु), सरिता केसी र ललिता खड्का छनोट भएकी छन्।
पुरुष तर्फ उत्कृष्ट १६ प्रतियोगीको छनोट
पुरुष प्रतिस्पर्धीमध्येबाट अर्जुन खड्का, सविन आचार्य, दिलीप थापामगर, टेकराज भण्डारी, रत्न श्रेष्ठ, धिरज कोइराला, सुमन खड्का, सरोज सिंखडा, प्रितम पोखरेल, निशान्त विश्वकर्मा, अनिल चापागाईँ, दिलीप कुमार मानन्धर, वेद प्रसाद न्यौपाने, हरि रेउले, सुरज बुढाथोकी र शंखर क्षत्री उत्कृष्ट १६ मा परेका छन्।
कार्यक्रम संयोजक एवं वरिष्ठ लोकगायक चन्द्र शर्माका अनुसार आज नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा फाइनल हुँदै छ ।
उत्कृष्ट ३२ जनाबीच उपाधिको लागि प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा उत्कृष्ट ठहरिने गायक गायिकाले मोटरसाइकल र नगद ३३, ३३३ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले स्कुटर र नगद र २२, २२२ पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।
प्रतियोगिताको संरचना अनुसार उत्कृष्ट १६ बाट ८ जना क्वार्टर फाइनलमा, त्यसपछि ४ जना सेमिफाइनल हुँदै अन्ततः दुई उत्कृष्ट कलाकारबीच फाइनल प्रतिस्पर्धा हुनेछ।
यस दोहोरी आइडलबाट छानिएका उत्कृष्ट प्रतिभाहरूलाई यही वर्ष आयोजना हुने दोहोरी गीत प्रिमियर लिग–२०८२ को पहिलो चरणमा सहभागी गराइने तयारी गरिएको छ। यस प्रतियोगिता मार्फत लोकसंगीतको नयाँ पुस्तालाई राष्ट्रिय मञ्चमा स्थापित गराउने उद्देश्य रहेको कार्यक्रमका अध्यक्ष रामप्रसाद अवस्थीले बताए ।