बुधबार, साउन ०१, २०८२

सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानी गर्नुस: मन्त्री गुरुङ

जापान । नेपाल सरकारका प्रवक्ता/ सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानी गर्न अपील गर्नु भएको छ ।
टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले शनिवार साँझ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विदेशमा कमाएको ज्ञान, सीप र पूँजी स्वदेशमा लगानी गर्न आग्रह गर्नु भएको हो ।
जापान भ्रमणमा रहनुभएका सञ्चारमन्त्री गुरुङले नेपालले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने पनी बताउनुभयो ।आईटी सम्बन्धी एसिया प्रशान्त स्तरीय मन्त्रीस्तरीय बैठकको उपलब्धिबारे जानकारी गराउँदै उहाँले ‘अब नेपालले आफ्नै स्याटेलाइट बनाउँछ । एउटा समिति बनाएर अध्ययन अनुसन्धान भइरहेको छ उक्त कार्यका लागि सरकार एक्लैले सम्भव नभए निजी क्षेत्रलाई समेत समावेश गरेर स्याटलाइट बनाउने छ ।’ उहाँले हाल नेपालमा रहेको इन्टरनेटको घर अर्थात डेटा सेन्टर एकदमै सानो रहेको र त्यसको प्रयोग सेना, प्रहरी तथा केही संवेदनशील क्षेत्रमा मात्र भइरहेको बताउनुभयो । नेपलको समग्र आइटी क्षेत्रको विकासमा आवश्यक ठुलो क्षमताको डेटा सेन्टर स्थापना गरिने बताउँदै मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसको लागि ठुलो पुँजी, उच्च प्रविधि र सीप समेत आवश्यक पर्ने भएकाले जापानी कम्पनीसँग छलफल अगाडि बढाएको छु ।’

राष्ट्रिय सुरक्षाको दृष्टिकोणले पनि जापानलाई विश्वास गर्न सकिने भएकाले जापानी कम्पनीहरु इच्छुक भएमा नेपालमा डेटा सेन्टर बनाउने काम तुरुन्त सुरु हुने बताउनुभयो । मन्त्री गुरुङले चीन र भारतलाई अप्ठ्यारो पर्ने कारणले पनि एलन मक्सको कम्पनी खोल्न हालसम्म स्विकृति नदिइएको समेत खुलासा गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘जापानी कम्पनीहरुसँगको सहकार्यमा नेपालमा स्याटलाइट र डेटा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको छ । कुरा सकारात्मक छ । जापानी कम्पनीसँग सम्भव नभए रसियासँग कुरा अगाडि बढाउन केही समयपछि रसिया जानेछु । सोही कामको लागि त्यसपछि स्विट्जरल्याण्ड जानेछु । यतिखेर उनीहरुको प्रविधि र सीप नेपाललाई चहिएको छ ।’

यो वर्ष आइटी क्षेत्रबाट ८७ अर्ब राजस्व संकलन भएको र आइटी क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि कानुन, बजेट, नीति तथा कार्यक्रममा समेत सबै कुराहरु सहज हुने तरिकाले काम भइरहेको भन्दै, ‘पछिल्लो समय आइटी क्षेत्र राजस्व संकलन गर्ने महत्वपूर्ण क्षेत्र बन्दै गएकाले पनि सूचना प्रविधि क्षेत्रलाई उद्योगको क्षेत्रमा विकास गर्ने बताउनु भयो ।
‘चुस्त र तिब्र गतिका इन्टरनेटको विकासका लागि म्यानपावरदेखि भौतिक संरचनाहरुको विकास हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘टोकियोमा सम्पन्न एपिटिको बैठकमा समेत आइटीसम्बन्धि नीतिगत कुराहरु, नेपालको चुनौतीहरु र नेपालले चाहेको आइटी क्षेत्र कस्तो हो भन्ने कुरा राखेको छु । त्यसगैरी नेपलाले आइटी क्षेत्रलाई अग्रपङ्तिमा राखेर दक्षिण एसियामा विकास गर्न खोजेको कुरा पनि बैठकमा राखेको छु, कुरा सकारात्मक भएको छ ।
मन्त्री गुरुङले हाल देशको कुल ग्राहस्थ उत्पादनमा कम्तिम ३ प्रतिशत योगदान आइटी क्षेत्रको रहेको र अब ५ प्रतिशत पुग्नेगरी काम गर्ने योजना सुनाउनु भयो ।

सरकारले २०८१ देखि २०९१ सालसम्म सूचना, प्रविधिको दशक भनेर घोषणा गरिएकाले पनि आइटी क्षेत्रबाट देशमा रोजगारी दिन सकिने र आइटी क्षेत्रबाट धेरै आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो । ‘त्यसको लागि अब नेपालमा स्थापना भएको आइटी कम्पनीले विदेशमा पनि शाखा विस्तार गर्न पाउने प्रावधानका लागि कानुन तथा नीति कार्यक्रम बानउने छु’ उहाँले भन्नुभयो, ‘हालको प्रवधानअनुसार आइटी क्षेत्रको ग्लोबल टेन्डरमा नेपालको चुस्त र क्षमतावान कम्पनीहरुले विदेशको कुनै पनि ठाउँमा काम गर्न नपाउने भएकाले त्यो अवस्था हटाएर नेपाली कम्पनीलाई विश्वभरी प्रतिस्पर्धा गरेर काम गर्न दिइने बाताबरण बनाउन सरकार लाग्नेछ ।’
अहिलेसम्म के व्यवस्था रहेछ भने नेपालमा कम्पनी खोलेको छ, जापानमा खोल्न नपाउने, हङकङमा खोल्न नपाउने त्यसले गर्दा जापानले आफ्नो देशमा राजस्व तिर्ने कम्पनीलाई मात्र काम गर्न दिने भएकाले पनि त्यो अप्ठ्यारो अवस्थालाई हाटाउनु पर्छ’ उहाँले भन्नुभयो ।
पत्रकारसँगको अन्तरक्रियामा उहाँले नेपालमा आईटी क्षेत्रमा राम्रो संभावना रहेकोले प्रवासमा कमाई स्वदेशमा लगाउदा आईटी क्षेत्रमा लगाउन र स्वदेश फर्कन अपील गर्नु भयो ।