मङ्गलबार, भदौ २३, २०८३

चाैथाे महांकाल कप-ह्विलचियर बास्केटबल प्रतियोगिता सुरु

काठमाडौं । “चौथो महांकाल कप–२०८२” सुरु भएको छ ।चण्डोलस्थित विशाल मिलन केन्द्रको बास्केटबल खेल मैदानमा सुरु भएको महांकाल कप ह्विलचियर बास्केटबल प्रतियोगितामा ९ पुरुष र ४ महिला टिम सहभागी छन् ।

२०७२ साल वैशाख १२ गतेको भुकम्प र त्यसको क्षतिलाई स्मरण गर्दै आयोजना गर्दै आएको महांकाल कपकाे उद्घाटन गर्दै राष्ट्रिय पाराओलम्पिक समिति नेपालकी अध्यक्ष राधा घलेले ह्विलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गरेर अपांगता भएका व्यक्तिको चाहनालाई प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गरिन् ।

विजेतालाई (महिला/पुरुष)लाई क्रमस: नगद २५ हजार, १५ हजार १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ । यस्तै , उत्कृष्ट खेलाडी र हाइ स्कोरर खेलाडीले दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।

शुक्रबार नायिका श्वेता खड्का, एलिजा गौतम, गायक दुर्गेश थापा, कलाकारहरू माया थामी, रिना थापा मगर, अस्मिता रानापाल, मुकेश नेपाली, शशिकला राई, अञ्जु सुनार, इन्दु थामी, कृष्ण मगर, सारा कार्की, मनु थामी, विमला थामी लगायतले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।