काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।
मिनभवनस्थित अस्पताल परिसरमा शुक्रबार आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।
त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताइन् । चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै उनले चीनले नेपालमा लगानी प्रवद्र्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यवाद ज्ञापन गरिन् ।
साङ्घाई सहयोग सङ्घसँग सम्बिन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुइ लिले नदी र पहाडले जोडिएको नेपाल–चीनबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमासमेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताए ।
उनले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन साङ्घाई सहयोग सङ्घ क्रियाशील रहेको स्पष्ट गरे ।
फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।