टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका छन्।
सोमवार टोकियोमा महासचिव पोखरेल सहितको टोलीले जापानी टोलीसंग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका हुन ।
उक्त छलफलमा जापान सरकारको सहयोगमा निर्मित काभ्रे–सिन्धुली खण्डको विपी राजमार्गका साथै पुल हाल प्राकृतिक प्रकोपका कारण जीर्ण अवस्थामा पुगेकाले यसको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक पहल गर्ने विषय प्रमुख रूपमा उठाइएको थियो। साथै, नेपालमा जापान सरकारको सहकार्यमा सञ्चालन गर्न सकिने अन्य सम्भावित विकास परियोजनाहरूको विषयमा समेत सकारात्मक छलफल भएको प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनु भयो ।
एमाले महासचिव पोखरेलले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको पूर्वाधार तथा आर्थिक विकासका क्षेत्रमा जापानको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नु भयो ।
राजदूत डा. सुवेदीले नेपालमा जापानको लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्न आवश्यक पहल भइरहेको जानकारी गराउनु भयो ।
जाईकाका प्रतिनिधिहरूले नेपालमा पूर्वाधार तथा विकास परियोजनाहरूमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै विपी राजमार्ग पुनर्निर्माण तथा अन्य विकास योजनाहरूको विस्तृत अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस्ता खालको छलफलले नेपाल-जापान सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको पूर्वाधार विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।