बुधबार, माघ १६, २०८१

एनआरएनएको १२ औं विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म काठमाण्डौंमा हुने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म काठमाण्डौंमा आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। सो सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गर्ने प्रचलन रहेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले संघका राष्ट्रिय समितिमा सदस्यता वितरणलाई तीव्रता दिने निर्णय गर्दै सदस्यता वितरणसम्बन्धी नियमावलीमा परिवर्तन गरेको छ। नयाँ नियमावलीअनुसार १ हजार सदस्य भएका राष्ट्रिय समितिमा ३ जना, ५ हजारभन्दा बढी सदस्य भएका देशहरूको लागि ५ जनाले सदस्यता प्रमाणीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै, राष्ट्रिय समितिको सदस्यता प्रमाणीकरणको लागि व्यक्तिको नाम सिफारिश गर्दा महासचिव र अध्यक्षको हस्ताक्षर अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ।

बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको विवादका सम्बन्धमा संघकी महासचिव रुविना शर्मा र अध्यक्ष सिता सापकोटालाई आ-आफ्नो पदीय दायित्व अनुसार काम गर्न निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै, बैठकले गैरआवासीय नेपाली संघ पोर्चुगलको विवाद मिलाउन सबै पक्षलाई समेटेर अघि बढ्ने वातावरण बनाउनका लागि क्षेत्रीय संयोजक चिरन्जीवी खड्का र संस्थापक अध्यक्ष पूर्ण हमाललाई जिम्मा दिने निर्णय गरेको छ। बैठकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषयमा कानूनी अड्चन हटाउन नेपाल सरकारका प्रतिनिधिको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

यसमा तपाईको प्रतिक्रिया