मङ्गलबार, असार ०९, २०८३

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको सरगर्मी बढयो, सहमतिमा कार्यसमिति बन्ने

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको सरगर्मी बढ़ेको छ ।
टोकियोमा अधिवेशन आउने मंगलबार अर्थात सेप्टेम्बर १७ तारिखलाई तय गरिएको अध्यक्ष बिजय थकालीले जानकारी दिनुभयो।

जापानमा रहेका नेपाली ब्यवसायीहरुको हकहित एवं अधिकारलाई सुनिश्चित गर्ने, उनीहरुको ब्यवसायिक प्रबर्द्धनका लागि सक्दो सहयोगी भूमिका निर्बाह गर्ने, जापानमा ब्यवसायिक अवसर र संभावनाहरुको खोजी गर्ने उद्देश्यका साथ सन् २०१८ मा स्थापना भएको नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशन हुन लागेको हो ।

अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सहित नयाँ कार्यसमिति गठन गर्ने छ भने आगामी कार्यकालका लागि कार्ययोजना बन्ने जनाएको छ ।
अधिवेशन नजिकिदैं गर्दा नेतृत्व तथा पदाधिकारीका लागि आकाँक्षीहरुको चासो बढेको छ भने यसैबीच निर्बाचन समितिले आफ्नो निर्वाचन कार्यतालिका र निर्वाचन सम्बन्धि प्रावधान पनि प्रकाशित गरेको छ । निर्वाचन समितिका संयोजक ओम गुरुङद्वारा प्रकाशित सूचना अनुसार १३ सेप्टेम्बर शुक्रबारदेखि १४ सेप्टेम्बर शनिबारको राति १२ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको छ र सोही दिन उम्मेदवारीको नामावली प्रकाशन गरिने कार्यसूची रहेको छ । यसैगरी १५ तारिख आईतबार राति १२ बजेसम्म दाबी बिरोधको समय तोकिएको छ भने १६ तारिख सोमबार राति १२ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समयसीमा तोकिएको छ । यसैगरी १७ तारिख मंगलबार बिहान १० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने तालिका रहेको छ ।

सर्बसम्मत हुन नसकेमा सोही दिनको ३ बजेसम्म गोप्य मतदानबाट निर्वाचन गराईने कार्यसूची रहेको भएपनी नयाँ संस्था बलियो बनाउन सहमतिबाट कार्य समिति चयन गर्न निर्वाचन समितिका संयोजक ओम गुरुङले पहल गर्न अध्यक्ष-महासचिवलाई आग्रह गर्नु भएको छ ।
निर्वाचन समितिद्वारा प्रकाशित सूचनामा उम्मेदवारी शुल्क अध्यक्षका लागि ६ मान येन, वरिष्ठ उपाध्यक्ष (१) का लागि ५ मान येन, उपाध्यक्ष (५) का लागि ४ मान येन, महासचिव (१) का लागि ३ मान येन, सचिव (३) का लागि ३ मान येन, कोषाध्यक्ष (१) का लागि ३ मान येन, सहकोषाध्यक्ष (१) का लागि ३ मान येन र सदस्य पदका लागि २ मान येन तोकिएको छ ।

निर्वाचन समितिद्वारा प्रकाशित सूचना अनुसार संघको कुनै पनि पदमा उम्मेदवारी दिनका लागि संघको सदस्यता लिएको र नविकरण गरेको हुनुपर्ने उल्लेख छ । यसैगरी अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि एक कार्यकाल पूरा पदाधिकारीमा रहेर काम गरेको हुनुपर्ने र अन्य पदाधिकारीमा उम्मेदवारी दिनका लागि एक कार्यकाल पूरा कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
निर्धारित मापदण्ड, शुल्क, मिति र समयसीमा भित्र रहेर उम्मेदवारी दिनुपर्ने अन्यथा मान्य नहुने प्रकाशित सूचनामा जनाईएको छ ।

अधिवेशनमा बिधान संशोधन प्रस्ताव, कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र भावी कार्ययोजना सम्बन्धि दस्ताबेज पारित गर्ने कार्यसूची रहेको संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जानकारी दिनुभयो।

शिन्ज्युकुस्थित प्रिन्स होटलमा हुने संघको अधिबेशनमा ब्यवसायसंग सम्बन्धित महत्वपूर्ण बिषयमा डेलिगेट्सहरुबीच अन्तरक्रियाको सेसन पनि रहने कार्यबाहक महासचिव बाबुराम पौडेलले जानकारी दिए ।

अधिबेशनमा टोकियोबाहिर नागोया, ओसाका, फुकुओका, निगाता लगायतका सहरहरुबाट पनि डेलिगेट्सहरुको प्रतिनिधिमुलक सहभागिता रहने र उक्त दिनको पहिलो सत्र अपरान्ह ३ बजेबाट बन्द सत्र रहने, त्यसपछि ५ बजेबाट खुल्ला सत्र तथा घोषणा सभा हुने त्यसपछि साँझ मैत्रिपूर्ण रात्रिभोज सहित अन्तरक्रियाको सेसन रहने गरी तयारी भईरहेको काब महासचिव बाबुराम पौड़ेलले बताउनु भयो।