बुधबार, साउन ०९, २०८१

सर्वसुलभ सेवाको लागि अमेरिकाको सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालयको माग

अमेरिका । नेपाल सरकारको दूतावास र कन्सुलेट कार्यालय वर्षौंदेखि अमेरिकाको एक भेगमा मात्रै सीमित हुँदा अन्य क्षेत्रका नेपालीले सास्ती खेप्नु परेको छ ।

पश्चिम क्षेत्रमा नेपालीको संख्या हजारौं भएपनि सरकारी निकाय पूर्वी तटमामात्रै सीमित हुँदा पासपोर्ट लगायतका सेवामा समस्या भएको हो । बढ्दो नेपालीको संख्यालाई सेवा पुर्‍याउन क्यालिफोर्नियाको सान् फ्रासिस्कोमा कन्सुलेट कार्यालयको माग गरिएको छ ।

अमेरिकाको वासिंटन डिसीमा दूतावास र न्युयोर्कमा मात्र कन्सुलेट जनरल कार्यालय छ । सान् फ्रान्सिस्कोमा १३०० भन्दा बढी नेपालीको संख्यालाई मध्यनजर नगरी पासपोर्ट घुम्तिसेवा ६/७ सय जनालाई लक्षित गर्दै लस एन्जेलस मा संचालन भएको भन्दै अमेरिका स्थित राजदुत ऋषि ढकालको चौतर्फी बिरोध भैरहेको छ ।

क्यालिफोनियाबाट वासिङ्टन डीसी पुग्न ४ हजार ४ सय ७५ किमिको दुरी पार गर्नु पर्छ । हवाई यात्रा गर्दा ६ घन्टा समय लाग्छ । नेपालीको जनघनत्व बढिरहेको तथा सेवाका लागि निकै अपायक भएकोले यहाँका संघ–संस्थाहरुले आइतवार एक सामूहिक भेला गरी कार्यालयको माग गरेका हुन् । नेपालीको संख्या बढेसँगै कार्यालयको पनि आवश्यकता महसुस गरिएको हो ।

३२ वर्ष पहिल्यैदेखि यहाँ कन्सुलेट कार्यालय माग गरिए पनि नेपाल सरकारले सुनुवाई नगरेको भन्दै अब अभियान नै चलाउने भएका छन् । एनआरएनए क्यालिफोर्निया र यहाँको ३० वर्ष पुरानो नेपाली एशोशियसन अफनर्दन क्यालिफोर्निया (नान्स) को आयोजनामा ५० बढी संघ संस्थाहरुले सामुहिक रुपमा कार्यालय माग गरेका छन् ।

युएस सेन्सस् ब्यूरोको तथ्यांक अनुसार पछिल्लो दश वर्षमा नेपालीको संख्यामा २ सय ९५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१० मा नेपालीको संख्या ५१ हजार ९ सय ७ रहेकोमा सन् २०२० मा २ लाख ५ हजार ९ सय ७ पुगेको छ । क्यालिफोर्नियामा मात्र यो जनसंख्या वृद्धिदर २ सय १६ प्रतिशत रहेको छ ।

अमेरिकाको सरकारी पहुँमापुगेको आधिकारिक तथ्यांक बाहेक नेपालीको संख्या निकै बढी छ । पछिल्लो सेन्सस लिएपछिको यो चार वर्षमा संख्यामा झन् बृद्धि भएको छ । सामाजिक अगुवाहरुको उक्त भेलामा कार्यपत्र प्रस्तुत गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका लेक्चरर आमोद पोखरेलले जनसंख्याबढेर लाखौं पुगेको अवस्थामा सरकारले आफ्ना नागरिकलाई सेवा विस्तार गर्दै लैजानुपर्ने बताए ।