काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा रइसीसँगै विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी संचारमाध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उदृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ ।
इरानी अर्धसकारी समाचार संस्था मेहर न्युज एजेन्सीले पनि राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै अन्य अधिकारी दुर्घटनामा सहिद भएको जनाएको छ । आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।